शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी चैत ९ गते सम्पन्न गरेको १५ औँ र १६ औँ साधारणसभाबाट पारित २७.७६९ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको जानकारी गराएको हो। कम्पनीले गत वर्ष फागुन २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिएको जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन पनि कम्पनीले आग्रह गरेको छ।
यसैगरी गत फागुन २५ गतेसम्म सेयर धितोमा कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्नसमेत सूचनामार्फत कम्पनीले आग्रह गरेको छ।
कम्पनीको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik










