श्रीराम सुगर मिल्स लिमिटेड स्थायी रुपमा बन्द भएको छ । विगत लामो समयदेखि कम्पनी घाटामा सञ्चालन हुँदै आएकाले साउन ११ गते देखि पुर्णरुपमा स्थायी रुपमा बन्द गर्ने कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत जानकारी गराएको हो । हरेक वर्ष घटामा गइरहेको हुँदा आव २०७५/ ७६ सम्ममा कम्पनीको कुल घाटा रू. २ अर्ब १७ करोडभन्दा बढी पुगेको छ । कम्पनीको अवस्था नाजुक भएपछि विगत चार महीनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी सञ्चयकोष बापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न नसेकेको उद्योगले जानकारी गराएको छ । गत आवमा कम्पनी १३ दिनमात्र क्रसिङको लागि खुलेको थियो । त्यसपछि विसं २०७६ फागुन १३ गतेदेखि पूर्ण रुपमा बन्द थियो ।

उद्योग बन्द भएपछि उद्योगमा कार्यरत श्रमिक, कर्मचारीको तलब भत्ता र अन्य सुविधा भुक्तानी गर्न हाल उद्योग व्यवस्थापकसँग आर्थिक अभाव भएका कारणले उद्योगको नाममा रहेको चल–अचल सम्पत्ति विक्री गरी भुक्तानी गर्ने पनि कम्पनीले बताएको छ ।

श्रीराम सुगर मिल्स रौतहट जिल्लाकै पहिलो चिनी मिल हो  । यसको स्थापना दुई दशकभन्दा पहिला भएको थियो  । उक्त उद्योगले रौतहट जिल्ला र वरपरका स्थानियहरुलाई रोजगारी दिनुका साथै स्थानीय उखु कृषकलाई नगदेबालीको रुपमा उखु लगाउन प्रात्साहित गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया