नेकपा सचिवालय बैठकले छ महिनाअघि राष्ट्रिय सभाको रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गर्यो । तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय हालसम्म कार्यान्वयन गर्नुभएको छैन ।

अब पनि अर्थमन्त्री युवराज खतिवडालाई नै त्यहाँ पठाउने हो भने वाणिज्य बैंकको अध्यक्ष बनाउन सदस्यमा नियुक्त उपेन्द्र कोइरालाकोभन्दा चर्को बिरोध हुने सम्भावना छ ।
त्यहि बिरोधको सुईंको पाएर गौतमलाई बालुवाटारले नयाँ फूलबुट्टा भरिएका आश्वासनका नयाँ नयाँ पोकाहरु दिन थालेको बताइन्छ ।

आश्वासनमा ‘पछिल्लो सहमतिपश्चात् प्रधानमन्त्रीलाई पार्टीको जिम्मेवारी कम र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई धेरै दिइने भएकाले तपाईंले उपाध्यक्षको भूमिकामा पार्टीभित्र प्रचण्डलाई चेक एण्ड ब्यालेन्समा राख्नुपर्ने देखियो । कमरेडले राष्ट्रिय सभा र मन्त्री भन्दापनि अहिले सक्रिय उपाध्यक्षको भूमिका निभाउनुपर्ने भयो’ भनिएको सुन्नमा आएको छ ।

सांसद तुलसा थापालाई क्याबिनेट पुनर्गठनमा व्यवस्थापन गर्ने संकेत दिँदै ‘आगामी महाधिवेशनमा तपाईं नै पूर्व एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार हुने भएकाले त्यहिअनुसार अघि बढ्नुस् कमरेड’ भनिएको पनि अर्को हल्ला छ । यस्तो अवस्थामा गौतमले ‘राष्ट्रिय सभाको सदस्य अब मलाई चाहिएन’ भनिदिने विश्वास लिएकाहरुले त्यसपछि लगत्तै खतिवडालाई मनोनित गर्ने योजनामा बालुवाटार रहेको बताइन्छ ।

खतिवडाले पनि पछिल्लो सातादेखि आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । सरकारी सञ्चार माध्यमहरूको प्रयोग गरी अर्थ मन्त्रालयको उपलब्धिको फेहरिस्त सार्वजनिक गर्न थालेका छन् ।

यसबीच विश्व बैंक, बेलायत सरकार, एशियाली विकास बैंक र चिनियाँ सहयोग सम्बन्धमा भएका फोन वार्ताको पनि समाचार बनाउन लगाइएको छ । यसबीचमा धेरै ऋण भित्र्याएको र भित्र्याउने तयारीमा रहेको सूचनासमेत प्रवाह गरिएको छ ।

जनआस्था डक कमबाट साभार गरिएको

तपाईको प्रतिक्रिया