विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग÷कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ । कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउनुहुन्छ । दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन् । “धेरैले फोनमार्फत आउन सकिन है भन्नुहुन्छ”, दाहालले भन्नुभयो, “धेरैको चासो पनि छ तर आउन नपाएकोमा गुनासो पनि छ ।” जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालको भनाइ छ । गएको वर्ष मात्र पनि उद्योगमा दुई झुण्डमा विदेशी आएका थिए । चियाको मुख्य सिजन (चैत–वैशाख)मै उद्योगले बन्दाबन्दी खेप्नु पर्यो । उद्योगीले यही सिजनमा अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसपटक भने कोरोनाले विदेशमा चिया जान सकेन । बन्दाबन्दी सकिए पनि कोरोनाको प्रकोप बढ्दा धेरै उद्योगीले घाटासमेत खेप्नु पर्यो । विशेषगरी सिधै तेस्रो मुलुक तयारी चिया पठाउने उद्योगीलाई त कोरोनाले नमज्जैले ‘घाटा’ गरायो । यसैकारण बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी एकै जना नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक सरद सुब्बा बताउनुहुन्छ । “यहाँ उद्योगमा आउने हाम्रा नियमित खरिदकर्ताहरू हुन्”, सुब्बा भन्नुहुन्छ, “धेरैलाई त चियाको नमूना पनि पठाउनु पर्दैन ।

त्यसै पनि जान्छ तर केही केही चाहिँ नेपालै आएर उद्योग र बगानै घुम्नु हुन्छ ।” सुब्बाका अनुसार उहाँको उद्योगमा बर्सेनि तीन÷चार समूहमा चियाका विदेशी खरीदकर्ता आउँछन् । सुब्बा भन्नुहुन्छ, “हावापानी, चियाबारीको रमाइलो दृश्य र गुणस्तरीय चियाले मेरो उद्योग र बगानमा तान्छ तर यसपटक कोही पनि आएनन् ।” त्यसो त इलामका धेरै उद्योग र बगानमा विदेशी खरीदकर्ता बर्सेनि पुग्छन् । चिया किन्न र मनोरम चियाबारी घुम्नै पनि विदेशी चिया बगान–उद्योग पुग्छन् । भारतको दार्जिलिङको चियाभन्दा इलामको चिया गुणस्तरीय मानिने हुँदा बर्सेनि विदेशी ग्राहक इलाम आउने क्रम बढ्दो छ तर यसपटकले कोरोनाका कारण चिया उद्योगीले नमाज्जाले धक्का खानु पर्यो । एकातिर कोरोनाले विदेशी आएनन् भने अर्कातिर यहाँ उत्पादन भएको तयारी चिया जान पनि गाह्रो भइरहेको छ । यसरी निकासीको ठूलो परिमाण जाने मुलुकबाटै खरीदकर्ता आउन नसक्नु र चिया जान नसक्नु चाहिँ चियाका लागि दुःखद कुरा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउनुहुन्छ । विभिन्न संस्था र व्यक्तिगत(उद्योग)कै आह्वानमा विदेशी चियाका लागि आउने गरेका छन् । “विगतका वर्षमा सानो÷ठूलो गरी ३०÷४० वटा समूह चियाको अनुसन्धानका लागि आउँथे तर यसपटक भने एकजना पनि छैन”, उहाँले भन्नुभयो । चिया खरीद र घुमघामकै लागि बर्सेनि उच्च सङ्ख्यामा विदेशी भित्रिन्छन् । कतिपय विदेशी चिया सम्बन्धी सङ्घ÷संस्थामार्फत नेपाल भित्रिन्छन् भने कतिपय उद्योगसँगको व्यक्ति चिनजानमा आउँछन् । पछिल्लो समय व्यक्तिगतभन्दा पनि सङ्घ÷संस्थामार्फत नेपाल भित्रिने विदेशीको सङ्ख्या बढी छ । चियासम्बन्धी सङ्घ÷संस्था केन्द्रीय चिया सहकारी सङ्घ (सिटिसिएफ), हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एशोशिएसन, स्पेसलिटी टी एशोशिएसन नेपाललमार्फत पनि विदेशी खरीदकर्ता नेपाल आउने गरेका छन् । नेपालबाट भारतसहित जापान, अष्टे«लिया, अमेरिका, नर्वेलगायतबाट चिया निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया