जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण निष्काशन शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर जीआईसी संकेतमा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले शुक्रबारदेखि आईपीओ प्राप्त गरेका शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गर्न थालेको हो ।

सिडिएससीले शेयर पठाउन थालेपनि कम्पनीले नेपाल स्टक एक्सचेञ्ज सँग दोस्रो बजारमा शेयर कारोबारका लागि सूचीकरण सम्झौता गर्नुपर्ने हुन्छ । सो काम बाँकी रहेको छ । कम्पनीको आईपिओ सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा शेयर सूचीकरण प्रकृया सम्पन्न भएपछि नेप्सेले कम्पनीको दोस्रो बजारमा शेयर कारोबारका लागि कारोबार संकेत र पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गर्दछ ।

यसअनुसार नै कम्पनीको शेयर सूचीकरण भएको दोस्रो दिनदेखि नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसन (आइतबारदेखि बिहीबारसम्म १०ः३० देखि १०ः४५ बजेसम्म) मा कारोबार भएपछि ११ बजेपछि नियमित कारोबार मार्फत कारोबार खुल्ने गर्दछ । नेप्सेले हरेक कम्पनीका पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ । यसअनुसार कम्पनीको आईपीओले अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज प्राप्त गर्ने देखिन्छ ।

इन्स्योरेन्सको आर्ईपीओ २ लाख ७३ हजार लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए । उच्च आवेदनका कारण योग्य आवेदकमध्ये बाँकी ५ लाख २१ हजार ५४६ जनाले कम्पनीको आईपीओ पाउन सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया