ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१.८७ प्रतिशतको आकर्षक वृद्धि देखिएको छ । चालु आवको तीन महिनामा नै कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।गत आवको पहिलो तीन महिनामा कम्पनीले ३ करोड ७६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २८ करोड ४२ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड ८३ लाख र बीमालेख धितोबाट ७८ लाख ४६ हजार कमाएको छ । गत आवको यसै अवधिमा लगानी कर्जा तथा अन्यबाट २ करोड १९ लाख र बीमालेख धितोबाट २८ लाख ९६ हजार कमाएको थियो।

यस अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन गत आवको पहिलो तीन महिनाको तुलनामा ३८ लाख २६ हजार रुपैयाँ धेरै हो ।

१ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३३.२३ रुपैयाँ छ । ज्योति लाइफको जगेडा कोष २४ करोड ८० लाखबाट बढेर ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा पनि आकर्षक सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख रहेको कम्पनीको जीवन बीमा कोष १४७ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ सञ्चित भएको छ ।

कम्पनीले ६६ हजार ११३ वटा बीमालेख बिक्री भएको छ । यसबाट कम्पनीले ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३० हजार ९१४ बीमालेखबाट २७ करोड ६५ लाख आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ४५ वटा दाबी भुक्तानी बापत १ करोड ४ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

तपाईको प्रतिक्रिया