तीनवटा वाणिज्य बैंकसहित ६ वटा बैंक तथा वित्तीय संस्थाको गत वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ। नेपाल बैंक, एनएमबी बैंक र सेन्चुरी कमर्सियल बैंकसहित शाइन रेसुंगा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक तथा साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी सबै बैंक तथा वित्तीय संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस १५ गतेसम्म कायम सेयरधनीहरुले यी बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

यीमध्ये नेपाल बैंकले १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। एनएमबी बैंकले पनि कुल १६ प्रतिशत नै लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद रहेका छन्। सेन्चुरी कमर्सियल बैंकले भने ५.२५ प्रतिशत बोनस र २.२५ नगद गरी कुल ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यसैगरी शाइन रेसुंगाले १३ प्रतिशत बोनस सेयरमात्र प्रस्ताव गरेको छ भने कामना सेवाले ४.४० प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद गरी कुल ४.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

साना किसान लघुवित्तले भने २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

तपाईको प्रतिक्रिया