कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ। आज सार्वजनिक बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५१.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ५३.४७ प्रतिशतले बढेर १ अर्ब ७४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यस्तो मुनाफा १ अर्ब १३ करोड रुपैयाँमा सीमित थियो।

यो अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो आम्दानी १ अर्ब ८२ करोड रुपैयाँमा सीमित थियो।

दोस्रो त्रैमासमा बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार भने दोस्रो त्रैमासमा २२.५२ प्रतिशतले बढेर ३ अर्ब ५० करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार २ अर्ब ८५ करोड रुपैयाँको मात्र थियो।

बैंकको खराब कर्जा दर थोरै बढेर १.०६ प्रतिशत पुगेको छ। गत वर्ष खराब कर्जा दर १.०४ प्रतिशत थियो। बैंकको सीडी रेसिया ७६.१५ प्रतिशत र आधार दर ७.९२ प्रतिशत रहेको छ।

वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.५३ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.१९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३०.८२ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया