सामुहिक लगानी कोषको इकाई ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई खरीद गर्ने बिहीबार अन्तिम रहेको छ ।

सानिमा क्यापिटलले माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

बुधबारसम्म फण्डले सर्वसाधारणबाट माग गरिएको इकाईभन्दा बढी आवेदन परेपछि बिहीबार कार्यालय समयपश्चात निष्काशन बन्द गर्न लागिएको हो । बुधबारसम्ममा ६९ हजार ७४५ आवेदकबाट ९ करोड ७५ लाख ४ हजार २२० इकाईका लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कुल निष्काशित १० करोड इकाईमध्ये फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

सानिमा क्यापिटलको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालितमा आउन लागेको ‘सानिमा लार्ज क्याप फण्ड’ ७ वर्षे बन्दमुखी प्रकृतिको यो दोस्रो योजना हो । यसअघि सानिमा इक्वीटी फण्ड सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया