सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ। आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरुप फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाका रुपमा मनाउन लागिएको हो। युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये ‘भिजिबल गोइटर’ सन् १९८५÷८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन ।

नेपाल सरकारले दिएको निर्देशनअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्षअनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्भेअनुसार ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ । सन् २०१६ मा भन नेपाल सरकारले गरेको एनडीएचएस सर्भेअनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ ।

अतः यस उपलब्धिलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ ।

यस वर्ष कोरोनाका कारण नेपाल संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघसंस्था, स्थानीय निकायलगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालन गरिने कर्पोरेसनले जनाएको छ।

आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष(स्टल) राख्नेजस्ता गतिविधि महिनाभरि सञ्चालन गर्ने कर्पोरेसनले जनाएको छ ।

आयोडिन मन्थमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएका सपिङ झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट, तथा फेस मास्कजस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने र आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गरिने कर्पोरेसनले जनाएको छ।

तपाईको प्रतिक्रिया