कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापन सञ्चालन हुने रु. ८० करोडको ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेबाट निष्काशन हुने भएको छ।

दसवर्षे बन्दमुखी यस योजनाका रु. १० अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिन लागेको छ।

यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकत ८० लाख इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।

यस योजनामा फागुन २८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ। कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ प्राप्त गरेको छ।

योजना सूर्यप्रसाद कोइराला, भरतराज पोखरेल, कृष्णप्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी पाँचजना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा सञ्चालन हुनेछ ।

योजना व्यवस्थापकले बृहत् अध्ययन तथा विश्लेषणका आधारमा इकाइ बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताको लगानीलाई सुनिश्चित गर्नेछ। नेट एसेट भ्यालुः रु. १० बाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरणपश्चात) सम्म रु. २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ। लाभांश र पुँजी वृद्विसमेत गरी औसत प्रतिफल २२ प्रतिशत हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया