ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको हो।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

ग्रीनलाइफको आईपीओमा १३ लाख २२ हजार ९७१ आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १३ लाख १९ हजार ५९ आवेदकका प्राप्त कुल २ करोड २६ लाख ३३ हजार १७० कित्ताका लागि भएको आवेदन सदर भएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार ३ हजार ९१२ आवेदकबाट प्राप्त कुल ५८ हजार ३२० कित्ताका लागि आवेदन भने बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसबाट ३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले ३२ लाख ५१ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी २ कित्ता भने भाग्यमानी २ आवेदकलाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ।

तपाईको प्रतिक्रिया