जाल्पा सामुदायिक लघुवित्तले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता शेयर जारी गर्ने भएको हो ।

शेयरको सार्वजनिक निष्काशन गर्न लघुवित्त कम्पनीले शुक्रबार प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । चैत्र ५ गते लघुवित्तको प्रधान कार्यालय सिमलाचौर पोखरामा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

जाल्पा लघुवित्तको कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय रहेको छ । लघुवित्तले २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ रहेको लघुवित्तले सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ कायम हुनेछ ।

चालु आवको ६ महिना अवधिमा नै यो लघुवित्तले ४ करोड ४२ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८२.०४ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया