
बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आरम्भ चौतारी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । यी दुई कम्पनीको बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले आरम्भ चौतारी लघुवित्तको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६६७ को आधारमा ८ दशमलव ८५ प्रतिशत बोनस पछिको मूल्य रू. १ हजार ५३१ र उन्नती सहकार्य लघुवित्तको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ७३० को आधारमा १७ दशमलव ८१ प्रतिशत बोनस पछिको मूल्य रू. २ हजार ३१७ तोकेको हो ।
यी दुबै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । आरम्भ चौतारी लघुवित्तले चैत १० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको हो भने उन्नती सहकार्य लघुवित्तले चैत ३१ गते छैठौं वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा प्रयोजनका लागि आरम्भ चौतारी लघुवित्तले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ भने उन्नती सहकार्य लघुवित्तले भने चैत १८ गते एक दिनमात्र बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा यी दुबै कम्पनीको बोनस शेयर पछिको मूल्य तेप्सेले तोकेको हो । यी कम्पनीहरुका चैत १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
आरम्भ चौतारी लघुवित्तले यस वर्ष ८ दशमलव ८५ प्रतिशत बोनस शेयर र उन्नती सहकार्य लघुवित्तले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर प्रस्ताव गरेका हुन । आरम्भ चौतारी लघुवित्तले गत असार मसान्तसम्म कायम चुक्तापूँजी रू. २ करोड ३३ लाख १५ हजारको आधारमा बोनस शेयर वितरण गर्न लागेको हो ।
त्यस्तै उन्नती सहकार्य लघुवित्तले हाल कायम चुक्तापूँजी रू. १४ करोड ९५ लाख ३६ हजारको आधारमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बोनस पश्चात कायम शेयर स्वामित्वमा सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न रू. १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ जारी गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ ।