आइतबार नेप्सेले उच्च भोल्यूमसहित नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्से परिसूचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा पुगेको हो।

यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले गत फागुन ९ गते अलटाइम हाइ रेकर्ड बनाएको थियो। सो दिन नेप्से २६४०.३५ विन्दुमा बन्द भएको थियो।

नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएकोले लगानीकर्ताहरु उत्साहित भएका छन्। कारोबार रकम सहितको परिसूचक वृद्धिलाई बलियो वृद्धिको रुपमा लिइन्छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ। यस दिन नेप्सेमा २१२ कम्पनीको ८९ हजार ८६० पटकको कारोबारमा ९ अर्ब ६८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य भने सर्वाधिक ४.६३ प्रतिशत घटेको छ। त्यसैगरी, सर्पोट माइक्रोफाइनान्स र एनआईडिसीएलको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको ३.६६ प्रतिशत, अन्यको ३.४१ प्रतिशत र जलविद्युतको १.५ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.३९ प्रतिशत घटेको छ भने लगानी उपसमूहको २.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रुडेन्सियल इस्न्योरेन्स, नेपाल बैंक र एनएलजी इन्स्योरेन्सको २० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया