प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने रु. १ अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ का इकाइहरु आउँदो जेठ ५ गतेबाट बिक्री खुला गरिने भएको छ।

कोष प्रवर्द्धक प्रभु बैंक तथा योजना व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गर्न लागिएको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ (१५ प्रतिशत) मध्ये कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो योजनामा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतममा ८ करोड ५० लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो बन्दमुखी योजनामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरिका तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
सातवर्षे यस योजनाका निष्कासन बन्द छिटोमा जेठ ९ गते र ढिलो जेठ १५ गते हुनेछ।

यो योजनालाई नेपाल धितोपत्र बोर्डले गते वैशाख १३ गते निष्कासन गर्ने अनुमति दिएको थियो।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन्।

यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एकपटकमा बढीमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेञ्चमार्क बनाउनेछ, जसलाई नेप्से ३० बेञ्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन्।

यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको क्यापिटलले जनाएको छ । आफूसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताहरुले ढुक्कसँग यो सामूहिक लगानी योजनामा लगानी गर्नसक्ने क्यापिटलको भनाई छ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पूँजी बजारमा उपलब्ध सबैखाले स्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ। हालको अवस्थामा पनि क्यापिटलले विभिन्न स्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ, जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ, जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ।

तपाईको प्रतिक्रिया