आइतबार शेयर किनबेच गर्ने लगानीकर्ताको उपस्थिति आक्रामक देखिँदा कारोबार रकममा उछाल आएको छ । नेप्से सूचक ३८ दशमलव ३२ प्रतिशतले बढेर २९८३ दशमलव १० अंकमा पुग्दा कारोबार उचालिएर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको शेयर किनबेच भएको हो । जसमा ३ करोड ३७ लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर कारोबार भयो ।

नेप्सेमा दैनिक कारोबार आक्रामक रूपमा बढिरहँदा लगानीकर्ता भन्दा धेरै ब्रोकर मालामाल बनेका छन् । ब्रोकरले आज एक दिनको कारोबाबाट मात्रै झण्डै ९ करोड ५० लाख रुपैयाँ कमिसनमार्फत कमाएका छन् । ब्रोकरले लगानीकर्ताबाट ० दशमलव ४ देखि ० दशमलव ६ प्रतिशतसम्म कमिसन असुल्छन् । जसमा ० दशमलव ५ प्रतिशतलाई आधार मान्दा पनि ब्रोकरले ९ करोडभन्दा धेरै पैसा आज एकै दिन कमाएका हुन् ।

पछिल्लो समय कारोबारले दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेपछि भने ब्रोकर कमिसन घटाएर ० दशमलव २५ प्रतिशत बनाउन लगानीकर्ताले माग गर्दै आएका छन । बढेको बजारमा इन्डेक्ससँगै सब–इन्डेक्सतर्फ विकास बैंक ८ दशमलव २४, फाइनान्स ७ दशमलव १४, जलविद्युत् ६ दशमलव १०, होटल एन्ड टुरिज्म ४ दशमलव ७३ र लगानी समूहको सूचक २ दशमलव ३८ प्रतिशतले बढेको छ ।

कारोबार उच्च भएसँगै झण्डै ४० वटा कम्पनी सर्किट लेबलमा पुगेका छन् । पाँच कम्पनी भने सकारात्मक सर्किट लगाउन सफल बनेका छन् । जसमा श्री इन्भेष्टमेन्ट,समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कणार्ली विकास बैक र सिन्धु विकास बैंकको १० प्रतिशतले शेयरमूल्य बढेको छ । योसँगै आज कारोबारमा आएका २२० कम्पनीमध्ये १ सय ४ कम्पनीले नाफा कमाएका हुन् भने ७४ कम्पनीले शेयरमूल्य गुमाएका छन् ।

तपाईको प्रतिक्रिया