नारायणी डेभलपमेन्ट बैंकले पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डसँगै १३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ ।
बैंकले एक बराबर एक अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
हकप्रद निष्काशनका लागि बैंकले असार ४ गते शुक्रबार आवेदन दिएको बोर्डले जनाएको छ ।
समस्याग्रस्त भई राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेको बैंकले विद्यमान पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेपछि कमजोर वित्तीय अवस्थाका कारण राष्ट्र बैंकले एक बराबर एक अनुपातमा मात्र हकप्रद जारी गर्न स्वीकृति दिएको थियो ।
केन्द्रीय बैंकको स्वीकृति पश्चात बैंकले बोर्डसँग हकप्रद जारी गर्न अनुमति मागेको हो । हाल १३ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद बिक्रीपश्चात २६ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
बैंकको २०७७ माघमा सम्पन्न १९ औं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गरेर पूँजीवृद्धि गर्ने निर्णय गरेको थियो ।
धितोपत्रको दोस्रो बजारमा आइतबार प्रतिकित्ता ६५२ रुपैयाँमा कारोबार भएको बैंकको वित्तीय अवस्था भने निकै कमजोर रहेको छ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ३६.१५ रुपैयाँ मात्र रहेको छ ।

Online Arthik










