मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार १७ गतेबाट ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यो लघुवित्तले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कानको ५ प्रतिशतले हुन आउने  १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट तथा मेरो सेयर पोर्टलबाट अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयसम्म हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

गत असार ६ गते धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको यो आईपीओका लागि मनकामना स्मार्टलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ।

भैरहवाको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको यो लघुवित्तले लुम्बिनी प्रदेशका ९ जिल्लामा ३६ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ।

चालु आर्थिक वर्षका संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५१ रुपैयाँ रहेको छ। ईपीएस आगामी आर्थिक वर्ष २०७८/९९ मा ५३.४० रुपैयाँ र २०७९/८० मा ८५.२३ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

आव २०७९/८० मा २७२.९० रुपैयाँ प्रतिसेयर नेटवर्थ पुर्याउने प्रक्षेपण गरेको यो लघुवित्तको चालु आर्थिक वर्षमा भने १८६.८१ प्रतिशत हुने अनुमान गरिएको छ।

चालु आवमा नेटवर्थमा प्रतिफल १९.९५ हुने र २०७९/८० सम्म ३१.२३ पुग्ने प्रक्षेपण संस्थाको रहेको छ। नाफा यो वर्ष ३ करोड २१ लाख रहने प्रक्षेपण गरेको आव २०७९/८० सम्म १० करोड ३२ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

यसैगरी आगामी ३ वर्षभित्र रिजर्भको आकार २० करोड ९४ लाख रुपैयाँ पुर्याउने संस्थाले लक्ष्य राखेको छ। चालु वर्षमा भने रिजर्भमा ३ करोड ९८ लाख रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया