नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही साउन १० गतेबाट बिक्री खुला गरिने भएको छ। बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गर्ने भएको हो। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

सर्वसाधारणलाई निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

यस ऋणपत्रमा निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते हुनेछ।

नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत जेठ ११ गते निष्कासन अनुमति दिएको थियो। सातवर्षे यस ऋणपत्रमा लागनीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया