कर्मचारी सञ्चय कोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ। कोषले तामाकोशी पाँचौँमा एक्लै ऋण लगानी गर्न लागेको हो। लगानीसम्बन्धी आयोजना प्रवर्द्धक कम्पनी तामाकोशी जलविद्युत कम्पनी, कर्मचारी सञ्चय कोष र नेपाल विद्युत प्राधिकरणबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।

माथिल्लो तामाकोशी आयोजनाको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौँको निर्माणकार्य अगाडि बढाउन लागिएको हो।

तामाकोशी पाँचौँ करिब १०० मेगावाट क्षमता हुनेछ। यसको कुल लगानी १६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। कुल रकममध्ये १२ अर्ब रुपैयाँ कोषले ऋण लगानी रहनेछ भने बाँकी ४ अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणले लगानी गर्नेछ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका ४ वटा युनिट रहनेछ। प्रतिमेगावाट लागत १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ। आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घन्टा ऊर्जा उत्पादन गर्नेछ। आवश्यक सबै काम सकेर आगामी १० महिनाभित्रमा बोलपत्रको काम थाल्ने र निर्माण सुरु गरिने योजनामा माथिल्ला तामाकोशी रहेको छ।

कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको आयोजना निर्माणको अन्तिम चरणमा छ। हाल माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ।

तपाईको प्रतिक्रिया