८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको सहास उर्जा लिमीटेडले साउन २९ गतेदेखि आयोजना प्रभावितका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरले ३५ लाख कित्ता आइपीओ आयोजना प्रभावितका लागि निश्कासन गर्ने भएको हो ।
आइपीओमा साउन २९ गतेदेखि भदौ ११ गतेसम्म आवेदन दिन सकिन्छ । सो अवधिसम्म सबै कित्ता बिक्री भएन भने ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिनसकिने व्यवस्था हुनेछ।
इच्छुक आयोजना प्रभावितले थोरैमा १० कित्तादेखि बढीमा १० लाख ५० हजार कित्तासम्मका लागि खरीद आवेदन दिनसक्ने आज प्रकाशित सूचनामा जनाइएको छ ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी १ करोड ५ लाख कित्ता साधारण सेयर निश्कासनको योजना बनाएको छ । पहिलो चरणमा त्यसमध्ये आयोजना प्रभावितका लागि ३५ लाख कित्ता निश्कासन गर्न लागिएको हो ।
आयोजना प्रभावितपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन हुनेछ । आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ३ अर्ब ५० करोड माथि पुग्नेछ ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
सोलुखोला हाइड्रोपावर प्रोजेक्ट ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ । यो आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा ९ बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

Online Arthik










