न्यादी हाइड्रोपावर लिमीटेडले भदौ १ गतेदेखि आयोजना प्रभावित र आफ्ना कर्मचारीका लागि आइपीओ निश्कासन गर्ने भएको छ । लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जारी पूँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता तथा कम्पनीको संस्थापक सेयरधनी संस्था बुटवल पावर कम्पनी लिमीटेड र लमजुङ विद्युत विकास कम्पनी लिमीटेडका कर्मचारीका लागि ३ लाख कित्ता सेयर निश्कासन हुने भएको हो ।

आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये आयोजनाबाट अति प्रभावित क्षेत्र लमजुङको मस्र्याङ्दी गाउँपालिका वडानम्बर ३(साबिक खुदी गाविस वडानम्बर १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडानम्बर ६, ७ र ८(साबिक बाहुनडाँडा गाविस र साविक भूलभूले गाविसका सम्पूर्ण वडाहरु)का स्थानीयबासिन्दालाई ५ लाख कित्ता सेयर र उक्त आयोजना प्रभावित क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रहरुमा बसोबास गर्ने स्थानीयबासीका लागि  १० लाख कित्ता सेयर निश्कासन हुनेछ ।

भदौ १ गतेदेखि निश्कासन हुने आइपीओ खरीदका लागि छिटोमा भदौ १५ गतेसम्म र ढिलोमा ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

यो कम्पनीको प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ । कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ ।

साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ ।

यो कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड तथा सहनिश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेका छन् ।

तपाईको प्रतिक्रिया