नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जर्गाहमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामीले सहज रुपमा उपचार पाउन थालेका छन् । नजिकै उपचार केन्द्र सञ्चालन भएर सहज रुपमा उपचार पाउन थालेपछि स्थानीयवासीलाई सुविधा भएको छ ।

प्रहरीयुक्ति तालीम महाविद्यालय सुनवल नगरपालिका—११ जर्गाहले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेपछि उपचारका लागि टाढा जानुपर्ने तथा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको हो । यसअघि यहाँका बिरामी उपचारका लागि बुटवल र भरतपुरसम्म जानुपर्ने बाध्यता थियो । दुई दिनअघि सर्पले डसेपछि उपचारका लागि आउनुभएकी स्थानीयवासी गोमादेवी ढकालले यस केन्द्रबाट आफूले सहज रुपमा सेवा पाएको बताउनुभयो । “हामी पहिला सर्पले टोक्दा टाढा र धेरै खर्च लगाएर उपचारका लागि जानुपर्ने बाध्यता थियो, अहिले जर्गाहमै प्रहरीले उपचार केन्द्र सञ्चालन गरेपछि धेरै सजिलो भएको छ, हामी एकदम खुशी छौँ”, उहाँले भन्नुभयो । सुनवल—१० का लक्ष्मण कार्कीले यस केन्द्रबाट आफूले राम्रो उपचार पाएको बताउनुभयो ।

उपचार सेवा प्रभावकारी रहेकाले बुटवल र भरतपुर पुग्नुपर्ने अवस्था अब नभएको उहाँको भनाइ छ । रुपन्देहीको देवदह—४ बाट आउनुभएकी दुर्गा बस्यालले राम्रो उपचार हुन्छ भन्ने सुनेकाले बुटवल नगइ यहाँ आएको र उपचार पनि राम्रो भएकाले आफू निको भएर फर्कन लागेको बताउनुभयो । यस उपचार केन्द्रमा हाल दैनिक सरदर तीन जनाका दरले सर्पले डसेका बिरामी आउने गरेका उपचार केन्द्रका चिकित्सक डा शिक्षित शेर्पाले बताउनुभयो । वर्षायामसँगै सर्प बाहिर निस्कने र डस्ने भएकाले यो समयमा धेरै बिरामी आउने गरेको उहाँ बताउनुहुन्छ ।

गत आवमा ५७ पुरुष र ५३ महिला गरी ११० सर्पदंशका र अन्य ३०० बिरामीले सामान्य उपचार सेवा लिएको उहाँले बताउनुभयो । यहाँ पानी सर्प, गोमन, करेत, कोब्रा सर्पले डसेका बिरामी धेरै आउने गरेका छन् । उपचार सेवा सहज र प्रभावकारी हुँदै आएकाले नवलपरासीसहित चितवन, रुपन्देहीबाट पनि बिरामी उपचारका लागि मान्छे आउने गरेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया