तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । उक्त आइपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

उक्त धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।

कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना प्रभावितका लागि यसअघि नै ४ लाख कित्ता शेयर बिक्री गरिसकेको छ ।

तपाईको प्रतिक्रिया