नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकालले पदबाट राजिनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतमा बोर्डको सञ्चालक भएका ढकालले सेबोन सञ्चालक समिति सदस्यमा नबस्ने व्यहोरा उद्योग वाणिज्य महासंघ नेतृत्वलाई अवगत गराएका हुन् ।

ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् । ढकालले आज २०७८ भदौ ८ गतेका दिनदेखि नै लागू हुने गरी सेबोन सञ्चालकबाट राजिनामा दिएको उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार ढकालले दिएको राजिनामा स्वीकृत भईसकेको छ भने रिक्त पदपुर्ति गर्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । महासंघले धितोपत्र बोर्डलाई ढकाल सञ्चालक पदमा नरहने व्यहोरा जानकारी गराउँदै नयाँ प्रतिनिधि नियुक्त भए पछि जानकारी गराउने व्यहोराको पत्र पठाउने निर्णय पनि गरेको छ ।

धितोपत्र बोर्डको सञ्चालकको पदमा रहेर ढकालले सर्वोत्तम सिमेन्टको शेयरमा लगानी गरे पछि विवादित बनेका थिए । यस सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन सुरु गरे पछि ढकालले सेबोन सञ्चालक समितिबाट राजिनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया