नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानी रहेको मोबाइल वालेट ‘नमस्ते पे’ ले आजदेखि औपचारिक रुपमा सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमसहित ‘नमस्ते पे’ सार्वजनिक गर्न लागेको हो ।

इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी बहुप्रतिक्षित ‘नमस्ते पे’ वालेट सञ्चालनमा ल्याउन लागिएको हो । नमस्ते पेको सञ्चालनका लागि छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । इन्टरनेटविना नै विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने यो वालेट नै पहिलो रहेको कम्पनीको दावी छ ।

यस वालेटमार्फत इन्टरनेट सेवा नभएका दूरदराज क्षेत्रबाट पनि भुक्तानी गर्न सकिने छ । हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिएजस्तैगरी यूएसएसडी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ ।

बिजुली, खानेपानी, इन्टरनेट लगायतको भुक्तानी यसमार्फत गर्न सकिनेछ। त्यस्तै रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियम भुक्तानी गर्न सकिनेछ । कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न सकिनेछ ।

तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयोग गर्नसक्ने छन् भने क्रमशः अन्य बैंकमार्फत पनि सेवा सुरु गरिने कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएको डिजिटल पेमेन्ट कम्पनी “नमस्ते पे” मा नेपाल टेलिकमको ६२ प्रतिशत अर्थात २५ करोड ८८ लाख र वाणिज्य बैंकका ३८ प्रतिशत अर्थात १५ करोड ११ लाख रुपैयाँ लगानी छ । नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो। नमस्ते पे को प्रमुख कार्यकारी अधिकृतमा टेलिकमका पूर्व सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुक्त्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया