गैर सरकारी संस्था टिम नेपोले फरक क्षमता भएकाहरुका लागि नि:शुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ । किर्तिपुरको पांगामा रहेको नव ज्योती प्राथमिक विद्यालयको प्राङ्गणमा आयाजित क्याम्पमा २९ जना फरक क्षमता भएका व्यक्तिहरुले सेवा लिएका थिए । उनीहरुमध्ये अधिकांश आँखाका रोगी र ज्येष्ठ नागरिक थिए ।

टिम नेपोले गत अगस्ट महिनादेखि फरक क्षमता भएका ज्येष्ठ नागरिक तथा असाहयहरुका लागि नि:शुल्क मेडिकल क्याम्पमार्फत सेवा दिँदै आइरहेको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग यूवा सञ्जालका अध्यक्ष महेन्द्र थापाले आफ्ना भनाई राख्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने नाम्सका अध्यक्ष डा. आभास आचार्य, आइ.एम.डि.एफ.का वोर्ड मेम्वर डा. सुसान्त भण्डारी, ए.एम.डि.आर.एफ.का उपाध्यक्ष डा. रोविन श्रेष्ठ, टिम नेपो महासचिव डा. सन्जु कार्की, डा. प्रदिप अधिकारी, डा. प्रतिभा ढकाल, डा. अजय राजवंसी, डा.कमलविक्रम पौडेल र डा. महेश अर्यालले कार्यक्रमको अगुवाई गर्दै सेवाग्राहीलाई सेवा पुर्‍याउनु भएको थियो ।

टिम नेपोका तर्फबाट बोल्दै अध्यक्ष डा.निगम पौडेलले असाहय, जेष्ठ तथा फरक क्षमता भएका व्यक्तिहरुलाई कोभिड र पछिका दिनहरुमा विशेष स्वास्थ्य सहायता पुर्‍याउन लागि परेको कुरा बताउनु भयो ।

क्याम्पलाई निभा र राजेश प्रधान परिवारको विशेष सहयोग रहेको थियो भने अपाङ्ग युवा सञ्जाल र नेपाल आयूर्वेदा मेडिकल स्टुडेन्ट सोसाइटी तथा इन्टीग्रेटिभ मेडिसिन डेभलप्मेन्ट फाउण्डेशनले सहयोग गरेका थिए ।

यसअघि पनि टिम नेपोले संखधर ज्येष्ठ नागरिक सेवा केन्द्र, दिव्य सेवा निकेतन ओल्ड एज होम गोल्फुटार र मानव सेवा आश्रम भक्तपुरमा नि:शुल्क मेडिकल क्याम्पमार्फत सेवा पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया