सिभिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा यही मंसिर २४ गतेबाट बिक्री खुला गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सिभिल बैंकले निष्कासन गर्ने यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।

यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ। लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको यस ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ९ गते बन्द हुनेछ।

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्ड गत असोज २५ गते निष्कासन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया