नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०७७/७८ का लागि १६६.६७ प्रतिशत लाभांश बाँड्ने भएको छ। नेप्से सञ्चालक समितिले सेयरधनीहरुलाई चुक्तापुँजी ६० करोडको १६६.६७ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो। जसमा १०० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्नेकरसहित) र ६६.६७ प्रतिशत बोनस सेयर रहेका छन्।
लाभांश पारित गर्न नेप्सेले यही पुस २९ गते आफ्नो ४० औँ वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाण्डौको शान्तिमार्गस्थित यूएनआईमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सोही सभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
सभाले नेप्सेको सहायक कम्पनी सीडीएससीको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ।
सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ भने अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने अजेन्डा पनि स्वीकृत गर्नेछ।
नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ।

Online Arthik










