प्राइम कमर्शियल बैंक लिमिटेडले चैत १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।

बैंकले निष्काशन गरेको ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ मा अब चैत ३० गतेसम्म आवेदन दिन सकिने भएको छ। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

साे ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

तपाईको प्रतिक्रिया