
ग्लोबल आइएमइ बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको हो। बैंकले शुक्रबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा पनि छलाङ मारेको जानकारी दिएको छ।
ग्लोबल आइएमइ बैंकले खुद ब्याज आम्दानी मात्र १० अर्ब ७४ करोड रुपैयाँ नघाएको छ। बैंकले २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ ग्राहकलाई ऋण दिएर खुद ब्याज आम्दानीमा छलाङ मारेको हो।
४ अर्ब १६ करोड रुपैयाँको नाफालाई २५ प्रतिशतले बढाएर बैंकले ५ अर्ब २० करोड रुपैयाँ पुर्याएको हो। बैंकले यस बीचमा ऋण १३ प्रतिशतले बढाएको हो भने निक्षेप ३.३७ प्रतिशतले मात्र बढाएको छ। यसका साथै स्प्रेडमा पनि सुधार गरेका कारण नाफामा छलाङ मारेको हो।
बैंकले ३.६५ प्रतिशतको स्प्रेड दरलाई बढाएर ४.२६ प्रतिशत पुर्याएको छ। बैंकको आधार दर ६.६ प्रतिशतबाट ९.४ प्रतिशत पुगेको छ। बचत खाताको आधार बलियो भएको बैंकले बचतको ब्याज ह्वात्तै बढाउँदा आधार दर निक्कै माथि पुगेको हो।
बैंकसँग ग्राहकबाट उठाएको निक्षेप २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रति सेयर आम्दानीमा पनि सुधार छ। बैंकको प्रति सेयर आम्दानी २१.८८ रुपैयाँ छ।