
मर्ज भएका प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरपछि नयाँ बनेको कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने कम्पनीले जनाएको छ।नयाँ कम्पनीको अध्यक्षमा आइएमई जनरलका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त वादे श्रेष्ठनै रहने भएका छन्।
शुक्रबार कम्पनीको संचालक समितिले मर्जर सम्बन्धित निर्देशिकाअनुसार संयुक्त एकीकृत कारोबार गर्ने मिति तय गरेको हो।
दुई कम्पनीबीच माघ २९ गते सेयर अनुपात १:१ कायम रहने गरी मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड छ।
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब भन्दा बढी पुग्नेछ।
नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी साढे २ अर्ब पुर्याउन निर्देशन दिएपछि यी दुई कम्पनीले अन्तिम चरणमा मर्जर प्रकृयामा गएका हुन्।