
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लघुवित्तले चालू आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा ४ करोड ४० लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । संस्थाको खुद ब्याज आम्दानी घट्ने र निष्क्रिय कर्जा बढेका कारण नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.१९ प्रतिशत घटेको भने खुद फि तथा कमिशन आम्दानी ३१.४० प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.६४ प्रतिशत र सञ्चालन मुनाफा ९४.३७ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा ३.३३ प्रतिशतबाट बढेर १२.०९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ८६ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४६ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ २५ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७७.७८ गुणा रहेको छ ।