सरकारले तीन वर्षदेखिको कृषि बीमाको अनुदान रकम नदिएको नेपाल बीमक संघले गुनासो गरेको छ । संघले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारले अनुदान रकम नदिँदा समस्यामा परेको बताएको हो ।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘विगत १० वर्ष देखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने सरकारले तोकेको अनुदान सामान्यतया एक वर्ष पश्चात मात्र प्राप्त हुनु पर्ने हो । सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई दिन हालसम्म करिब ३ अर्ब बाँकी रहेको छ ।’
माछाको अनुदान रकम वि.सं २०७७ सालदेखि बाँकी रहेको छ । बाली बीमाको अनुदान रकम पनि २०७८ साल असोजदेखि चैत्र मसान्तसम्म आंशिक दिई हालसम्मको बाँकी रहेको छ । त्यस्तै, पशुपक्षी बीमाको अनुदान रकम २०७८ साल असोजदेखिको बाँकी रहेको छ ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको कृषि बिमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीहरूको अनुदान रोक्नु नेपाल सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने हुँदा नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपन्छी मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनु पर्ने संघको माग रहेको छ ।
उक्त अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरू अत्यधिक जोखिममा रहेको संघले जनाएको छ ।
सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी नगर्ने समेत उनीहरूको चेतावनी रहेको छ । यसका साथै सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरू असमर्थ रहेको संघको भनाई छ । यही जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दाबी भुक्तानी दिन स्थगन गरिने समेत संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

Online Arthik










