अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम करको स्पष्ट पारेको छ। लगानीकर्ता आन्दोलित भएपछि आन्तरिक राजस्व विभाग दुई पटक विज्ञप्ति निकाल्दै रक्षात्मक बन्दै गएको छ। उसले सुरुमा पेसा व्यवसायका रूपमा कारोबार गर्नेलाई कर लाग्ने जनाएको थियो। पहिलो विज्ञप्तिले झन् द्विविधा सृजना गरेको थियो। लगानीकर्ता थप आक्रोशित बनेपछि विभागले पुन: अर्को विज्ञप्ति जारी गर्दै पेसा व्यवसाय गर्नेहरु बाहेकका लागि पुँजीगत लाभकर नै अन्तिम कर भएको जनाएको थियो।

सरकारको एकपछि अर्को प्रष्टीकरणले लगानीकर्ता सन्तुष्ट हुन सकेनन्। उनीहरुले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्। अहिले लगानीकर्ताको एक टोली अर्थसचिव अर्जुन पोखरेललाई भेट्न पुगेका छन्।

सचिव पोखरेलले बिजमाण्डूसँग संक्षिप्त कुरा गर्दै आय विवरण बुझाएर कर तिर्नुपर्ने व्यवस्था सबै लगानीकर्ताका लागि नभएको बताए। उनका अनुसार अधिकांश लगानीकर्ताका लागि पुँजीगत लाभकर नै अन्तिम हो।

अहिले घरै बसेर ठूलो लगानी गर्ने, अन्य आम्दानी गर्नेहरुले आयकर तिर्ने व्यवस्था मिलाइदिनु पर्‍यो भनेका आधारमा यो सुविधा ल्याइएको उनको तर्क छ। ‘कसैले तिर्छु भनेर आयो भने यो व्यवस्था लागू हुन्छ। तिर्दिन भन्छ भने लाग्दैन,’ उनले भने, ‘अन्तिम कर नै पुँजीगत लाभकर हो।’

सेयर बजार ओरालो लागिरहेका बेला सरकारले ल्याएको ‘आत्मघाती कर’ ले मनोबल थप कमजोर भएको र यसले लगानीकर्तालाई दीर्घकालसम्म भलो नगर्ने भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन्।

यसअघि पनि करका विषयमा विवाद भएको थियो। त्यसबेला अर्थसचिव शिशिरकुमार ढुंगाना थिए। त्यही बेला पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने निर्णय भएको थियो। सरकारले सुल्झिसकेको विषयलाई पुन: उठान गरेर लगानीकर्ताको मनोबल कमजोर पार्ने काम गरिरहेको उनीहरु आरोप लगाउँछन्।

आज बिहान लगानीकर्ताको टोली अर्थमन्त्री डा. प्रकाशशरण महतको निवास बुढानिलकण्ठ जाने तयारीमा थियो। तर, प्रहरी बल प्रयोग गरेर गंगालाल अस्पताल अघि नै रोकेको लगानीकर्ता तिलक कोइरालाले जानकारी दिए। उनका अनुसार झन्डै तीन सय लगानीकर्ताको टोलीलाई प्रहरीले रोकेको थियो।

त्यसपछि लगानीकर्ता विभिन्न ब्रोकर कार्यालय बन्द गराउँदै हिँडेका छन्। सबै कार्यालय बन्द गर्ने उनीहरुको योजना छ।

धम्कीपछि ब्रोकरहरले पनि सेवा दिन असहज परिस्थिति सृजना भएको भन्दै कारोबार गर्न मानेका छैनन्। ब्रोकर एसोसियसनले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाध रुपमा कार्यालय संचालनको प्रबन्ध मिलाइदिन सरकार र अर्थमन्त्रालयलाई गुहारेको छ।

सरकार र लगानीकर्ताको टकरावमा ब्रोकर सेवा भने चेपुवामा परेको एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए। ‘कारोबार सञ्चालन गर्ने वा बन्द गर्ने निर्णयमा पुग्न कठिन भएको अवस्था छ,’ उनले भने,’असुरक्षित भएर काम गर्न कति सकिएला र ! सक्दैनौ पनि। तर वातावरण सहज भए सेवा दिन पछि भने हट्दैनौ।’

२७ खर्ब २४ अर्ब बजार पुँजीकरण रहेको क्षेत्रमा अहिले मुस्किलले एक अर्बको कारोबार भइरहेको छ। बजार सहज अवस्थामा सञ्चालन हुँदा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार हुँदै आएको थियो।

 

तपाईको प्रतिक्रिया