
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि सुरु भएको छ।
लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १३ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको छ। प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गतवर्षदेखि दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आईसीटी अवार्ड पनि सञ्चालनमा रहेको छ।
सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ। यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ। यीबाहेक यस वर्ष स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार एन्ड इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधाहरु रहेका छन्। व्यत्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२३ का लागि पनि नोमिनेसन खुला गरिएको छ।
सस्थागत विधाहरुमा डिजिटल एजुकेसन आईसीटी अवार्ड(पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड(प्राइवेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ विधाहरु रहेका छन्।
यसैगरी साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसनमा पनि नोमिनेसन खुला गरिएको छ। यी सम्पूर्ण विधाहरुमा अफिसियल वेबसाइट धधध।ष्अतबधबचम।यचन मार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितीका अध्यक्ष राजन लम्सालले बताए। आफू स्वयं वा अन्य कोहिले सम्वन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ। नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ।
आईसीटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा बृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ। भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रक्रियाका लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेसन सेसनहरु सञ्चालन हुनेछन्। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा उत्कृष्ट १० प्रतिस्पर्धीको टेलिभिजन शो पनि प्रशारण हुनेछ। सातै प्रदेशमा गएर आयोजकले स्थानिय स्टार्टअपहरु खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरुलाई काठमाण्डौमा बुटक्याम्प र मेन्टरिङ सेसनहरु पनि सञ्चालन गर्नेछ।
यसैगरी एकमहिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ। सातै प्रदेश र काठमाण्डौमा प्रि–इभेन्टको रुपमा स्टार्टअप एन्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए।
अवार्ड छनौट प्रक्रियाको क्रममा, सर्वोत्कृष्ट छनौटका लागि जुरी समितीले सम्वन्धित सस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययन समेत गर्नेछ। जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन्। साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समितिमार्फत छनौट प्रक्रिया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए। यस विधामा उत्कृष्ट १० प्रतिस्प्रधीहरु ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन्।
गत वर्ष २३ डिसेम्बरमा, एक हजारभन्दाबढिको प्रत्यक्ष सहभागितामा द सोल्टी काठमाण्डौमा इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले सम्पन्न भएको थियो। सातौ संस्करणमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र जुरी मेन्सन सम्मानसहित अन्य १३ विधामा आईसीटी अवार्ड २०२२ प्रदान गरिएको थियो। सन् २०१६ देखि हालसम्मका विजेता, सम्पूर्ण कार्यक्रम र नोमिनेसनबारे सम्पूर्ण जानकारी वेबसाइट धधध।ष्अतबधबचम।यचन मा समावेश गरिएको छ।
अवार्ड विजेताहरुले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधाहरु प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्। गतवर्ष माइक्रोसफ्ट, ह्वावे, एनसेल र नेपाल टेलिकमले विजेताहरुलाई आकर्षक अफर र सुविधाहरु पनि प्रदान गरेका थिए। यस वर्ष अवार्ड विजेताहरुलाई अझ धेरै पुरस्कारसहित कार्यक्रम भब्य र परिस्कृत हुने आयोजकले जनाएको छ।