मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयलाई आवेदन दिने म्याद थप गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने भर्ने आज साउन २ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार १९ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा स्थानीयले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् भने विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको छ। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुलाइएको छ।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ छुट्याइएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।

 

तपाईको प्रतिक्रिया