विश्व लगानीकर्ता सप्ताह नेपालमा पनि मनाइने भएको छ। नेपालमा धितोपत्र बोर्डले धितोपत्र नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय संगठन (आईओएससीओ)को आह्वानमा नेपालमा विधि कार्यक्रम गरी लगानीकर्ता सप्ताह मनाउन लागेको हो।
सोमबारबाट सुरु हुने लगानीकर्ता सप्ताहको तयारी पूरा भएको बोर्डको भनाइ छ। आईओएससीओले २०२३ मा विश्व लगानीकर्ता सप्ताह अक्टोबर २ देखि ८ सम्म मनाउन आह्वान गरेकोमा बोर्डले लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्तालाई सशक्तीकरण गर्ने उद्देश्यले देशव्यापी रूपमा असोज १५ देखि २१ सम्म साताव्यापी विविध कार्यक्रमहरू आयोजना गरी विश्व लगानीकर्ता सप्ताह मनाउने अन्तिम तयारी पूरा गरेको जनाएको छ।
धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरूपमा लगानीकर्ताहरूको शिक्षा तथा सचेतना अभिवृद्धि गर्न विश्व लगानीकर्ता सप्ताह २०२३ आयोजना गरिने भएको हो।
लगानीकर्ताको सशक्तीकरण गर्ने उद्देश्यले आईओएससीओले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ र यस अवसरमा आईओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड तथा पुँजीबजार सम्बन्ध अन्य पक्षहरूले पनि निरन्तर रूपमा लगानीकर्ता लक्षित विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएको छ। विश्वमा यो कार्यक्रम एक सयभन्दा बढी देशमा अक्टुवर २ देखि ८ सम्म सप्ताहव्यापी रूपमा मनाइने गरिन्छ। धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हित सुरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि धितोपत्र बजारसम्बन्धी सूचना तथा गतिविधिहरू सर्वसाधारणमा प्रवाह गर्दै बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न यो सप्ताह महत्त्वपूर्ण रहेको छ।
सेयर बजारका विविध विषयमा केन्द्रित रही मनाइने विश्व लगानीकर्ता सप्ताह २०२३ मा बोर्डको अगुवाइमा नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ संस्था, स्टक डिलर तथा पीईभीसी कोष व्यवस्थापकसमेतको सहभागितामा साताव्यापी रूपमा मनाइने कार्यक्रमहरूको विस्तृत विवरण बोर्डको वेवसाइटमा रहेको छ।
विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महहत्त्वका बारेमा आम लगानीकर्ताहरूमा व्यापक सञ्चार भई उनीहरूमा यस बजार प्रवेश गर्न उत्साही हुने, वित्तीय साक्षरतामा अभिवृद्धि भई लगानीकर्ताले सुसूचित निर्णय लिन सक्ने र यसबाट पुँजीबजारमा स्थिरता तथा विश्वसनीयता अभिवृद्धि हुन सहयोग पुग्ने विश्वास बोर्डले जनाएको छ।

Online Arthik










