१३ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कारोबारमा मात्रै कालो सूचीमा पर्नेको संख्या२४ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको तीन महिनामै कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्ने ऋणीको ६६ हजार ६०१ रहेको केन्द्रको तथ्यांक छ । चालु आर्थिक वर्ष लागेपछि मात्रै कालो सूचीमा पर्नेको संख्या करिब १३ हजारले बढेको हो । गत असार मसान्तसम्म ५३ हजार ७४५ व्यक्ति तथा संस्था कालो सूचीमा थिए । १२ कात्तिकसम्म यो संख्या २३.६७ प्रतिशतले बढेको हो ।
आर्थिक शिथिलताको कारण व्यापार व्यवसायलगायत गतिविधिमा सुस्त हुनु तथा उच्च महँगीका कारण ‘कर्जा डिफल्ट’ र चेक बाउन्सका घटना बढ्दै जाँदा कालो सूचीमा पर्नेको संख्या उच्च दरले वृद्धि भएको हो ।
बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी नगरेका मात्रै नभएर पछिल्लो समय चेक बाउन्समा पनि ग्राहकहरूलाई कालो सूचीमा राखिँदै आएको छ । त्यसले गर्दा पछिल्ला केही वर्षयता कालो सूचीमा पर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ ।
कर्जा सूचना केन्द्रले २१ फागुन २०४६ देखि कालो सूची पर्नेहरूको विवरण वेबसाइटमा राखेको छ । ३१ असार २०७९ मा २६ हजार ३४७ व्यक्ति तथा कम्पनी कालो सूचीमा रहेकोमा पछिल्लो १५ महिनामा मात्रै ४० हजारभन्दा धेरै यसमा थपिएका छन् । यो त्यसबेलाको तुलनामा अढाई गुणाभन्दा धेरैले बढी हो ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे कालो सूचीमा पर्नेको अधिकांश चेक बाउन्सकै घटना रहेको बताउँछन् । पछिल्लो समय आर्थिक गतिविधिमा सुस्तता आउँदा व्यापार व्यवसाय गर्नेको नगद प्रवाहको चक्र नै प्रभावित भएको र त्यसले चेक बाउन्सका घटना बढेको उनले बताए ।
१/२ महिनाको समय राखेर चेक काट्ने र व्यापार भएपछि साटिन गरी कारोबार गर्ने व्यवसायीहरुमा व्यापार नहुँदा चेक नसाटिन र चेक नसाटिंदा त्यसलाई बाउन्स गरेसँगै धेरैजसो कालो सूचीमा पर्ने गरेको उनले बताए । व्यापार व्यवसाय नहुँदा व्यवसायीमा नगद प्रवाहको चक्र नै प्रभावित भएको र जसले गर्दा कालो सूचीमा पर्नेको संख्या बढेको पाण्डे बताउँछन् ।

Online Arthik










