प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमा लकइन अवधि आगामी पुस ९ गतेदेखि समाप्त हुने भएको छ ।

पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त हुन लागेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने कम्पनीले बताएको छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

लकइन समाप्त हुने सम्बन्धमा केहि दिन अघि मात्र नेपाल धितोपत्र बोर्डले एक महिनाअघि नै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका छन् ।

दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले आफ्नो कारोबारको यथार्थ विवरणको जानकारी समयमा नै नदिँदा लगानीकर्ताहरू डुब्ने गरेको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत संगठित संस्थालाई  सेयरको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन भनेको छ ।

 

तपाईको प्रतिक्रिया