नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ।

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सीपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरू गरेको हो।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरेका हुन्।

मन्त्री भण्डारीले बैंकको यस्तो योजनाले विदेशिएका दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘सरकारले विदेशिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरू गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पुर्‍याउने मेरो विश्वास छ।’

मन्त्री भण्डारीले सहज र सरल ढंगबाट वित्तीय सेवा प्रवाह गरी यो कर्जालाई देशव्यापी बनाउन सके देशको विकासमा टेवा पुग्नेमा  समेत विश्वास व्यक्त गरे।

बैंकको यो नयाँ कार्यक्रमअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा बैंकले अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउनेछ।

बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध हुनेछ। आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरेर बैंकले यो कर्जा उपलब्ध गराइने छ।

आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिन भित्रमा कर्जा प्रवाह भइसक्ने बैंकले जानकारी दिएको छ।

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले मिडियामा विदेशिएका नेपालीहरूको मात्र समाचार बन्ने र फर्केका नेपालीहरूको नबन्ने गरेको बताए। उनले विदेशबाट फर्केका नेपालीहरूको सीपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन नबिलले ल्याएको यो कार्यक्रम अहिलेको आवश्यकता रहेको बताए।

नेपाल फर्केका नेपालीहरूको पुँजी र सीपको उपयोग गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको जानकारी दिँदै नबिलले पनि साथ दिएकोमा उनले आभार व्यक्त गरे।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रीत रही बैंकले आफ्नो यात्रा अघि बढाएको बताए। ‘यो कर्जा योजना बैंकले व्यवसायिक रूपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न बनाइएको एक अभियानका रूपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने।

अध्यक्ष पौड्यालले प्रवासमा काम गरेर स्वदेश फर्केका नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्न, उनीहरूले हासिल गरेको ज्ञान र विशेषज्ञताबाट उद्यमशीलता प्रवर्द्धन गर्न यो कार्यक्रम निकै उपयोगी हुने बताए। साथै, विदेशबाट फर्किएका नेपालीलाई उनीहरूको सीपको उपयोग गर्न, उनीहरूलाई उद्यमशील बनाउन तथा राष्ट्रिय अर्थतन्त्र विस्तार गर्न यो कार्यक्रमको लक्ष्य भएको जानकारी गराए।

यस्ता योजनामार्फत बैंकले दीगो यात्रालाई जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए। बैंकले सार्वजनिक गरेको यस्तो योजना दीगो बैंकिङ विकासको लागि कोशेढुंगा साबित हुने उनको भनाइ छ ।

बैंकको एसएमई, एमएफ तथा सस्टेनेवल बैंकिङ प्रमुख अमित श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएका तथा हाल वैदेशिक रोजगारमा रहेका नेपालीहरूको परिवारलाई वित्तीय पहुँच पुर्‍याउन यस नयाँ योजना ल्याइएको जानकारी दिए।

यसले रेमिटेन्सलाई सही ठाउँमा उपयोग गर्न समेत प्रोत्साहन पुग्ने विश्वास बैंकले राखेको छ। यो कर्जा योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ।

नबिल बैंक नेपालकै अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले २६६ वटा शाखा सञ्जाल, २२ वटा एक्सटेन्सन काउन्टर, ३१३ वटा एटिएम मेसिनबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकको नेपालभर १८ लाख भन्दा धेरै ग्राहकहरू छन्।

तपाईको प्रतिक्रिया