नेशनल लाइफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश गरेको छ। वि.स २०४४ फागुन १० गते नेपालमा बीमा व्यवसाय सञ्चालन गरेको नेशनल लाइफ इन्स्योरेन्स शुरुमा जीवन र निर्जीवन दुवै प्रकृतिको व्यवसाय थालनी गरेको थियो । वि.स २०६१ सालदेखि जीवन बीमा व्यवसाय नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स नामको निर्जीवन कम्पनी खडा गरेर बीमा व्यवसाय गर्दै आएको छ।
कम्पनीले स्थापनाकालदेखि २०८० पुस मसान्तसम्ममा कुल ९३ अर्ब ५० करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरिसकेको कम्पनीले जनाएको छ। कम्पनीले ५४ लाख ५० हजार बढी बीमालेखा जारी गर्दै हालसम्म ३३ अर्ब ३० करोड रुपैयाँ बढी दाबी भुक्तानी गरिसकेको छ।
कम्पनीको पुँजीगत संरचनामा संस्थापकको ४५.४३ प्रतिशत र विदेशी लगानीकर्ताको १.११ प्रतिशत रहेको छ। विदेशी लगानीकर्ताले १० प्रतिशतको लगानीलाई १.११ प्रतिशतमा सिमित हुन पुगेको छ । राष्ट्रिय बाणिज्य बैंकको पनि ८.४६ प्रतिशत शेयर हिस्सा रहेको छ। सर्वसाधारण समुहको शेयर हिस्सा ४५ प्रतिशत छ।
३७ औं बार्षिकोत्सवको अवसरमा बीमितले पाउने बोनसदरमा अधिकतम बृद्धि, लगानीकर्ताहरुलाई समुचित प्रतिफल तथा आम सर्वसाधारणलाई सरल बीमा सेवा प्रवाह गर्दै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशका ११७ वटा शाखा र उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशैभरि फैलिएका एक लाख भन्दा बढि बीमा अभिकर्ता, हजारौं एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सीहरुमार्फत आम जनतामा बीमा सचेतना फैलाउँदै आएको कम्पनीले पछिल्लो समय बीमा व्यवसायमा दरिलो उपस्थिति दर्शाउदै अघि बढिरहेको छ । कम्पनीमा ४८० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
३७ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले नेपालको जीवन बीमा बजारमा पूर्ण व्यवसायिक अभ्यास, प्रविधिमैत्री जीवन बीमा सेवा, पारदर्शीता, विश्वसनीयता र इमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘धेरै पुरानो इतिहास बोकेको ३७ वर्ष पुरानो कम्पनी भएको नाताले ग्राहक र अभिकर्ताप्रति विशेश प्रकारको धन्यवाद दिन चाहन्छौं’ सिईओ सुरेश प्रसाद खत्रीले प्रतिबद्धता जनाउँदै भने ‘आम ग्राहकहरुको विश्वासले नै आजको दिनमा नेशनल लाइफ इन्स्योरेन्स यहाँ आईपुगेको हो, बीमा अभिकर्ता र कर्मचारीहरुको अथक मेहनतको परिणाम स्वरुप ३७ वर्षसम्म कम्पनीले उत्कृष्ट बीमा सेवा दिन सफल भएको छ । नियामक निकायको उचित मार्गदर्शन र सञ्चालक, पूर्व सिईओहरुको योगदानका कारण देशकै सर्वाधिक लोकप्रिय कम्पनी बन्न सफल भएको छ ।’
बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई आजको अवस्थामा पुर्याउन योगदान गर्ने सबै पूर्व सिईओ तथा अध्यक्षहरु, कर्मचारीहरु, बीमा गर्ने बीमितहरु तथा बीमा अभिकर्ता र नियामक निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । ३७ औं बार्षिकोत्सवको अवसरमा सिईओ खत्रीले आगामी दिनमा कम्पनीको बोनस घट्न नदिई अझै बृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै आजको दिनमा सबैलाई खुशी मनाउन आह्वान गरेका छन् ।