नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चैत १६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भएको कर समेत उक्त नगद लाभांश कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिदिएको हो ।

फागुन २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले नगद लाभांशसँगै ७ दशमलव ५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि शेयरधनीहरूको हितग्राही खातामै जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रूपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश यो वर्ष वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रूपैयाँ कायम हुनेछ ।

बोनस शेयर वितरणपछि कायम हुने संस्थापक र सर्वसाधारण समूहको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग भएको सर्वसाधारण तर्फको ६ करोड ६९ लाख ९० हजार रूपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० दशमलव २७ कित्ता थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

कम्पनीले संस्थापक तर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्नेछ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा एफपीओ निष्कासनका लागि अनुमति लिने योजना कम्पनीको छ । एफपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।

तपाईको प्रतिक्रिया