संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थाविपरीत हुने गरी सर्वोच्च अदालतले आदेश दिएको भन्दै काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएका पत्रकारहरुले आज बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् । ‘संविधानको पालना गर्’, ‘प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड लिएर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना गरेको आरोप लगाए । ‘प्रमाण नष्ट गरेर कसरी छानबिन गर्ने ?’ उनले प्रश्न गरे । पत्रकार जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता अहरणीय भएकाले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे ।

कार्यक्रममा सहभागी पत्रकार खेम थपलियाले प्रेस स्वतन्त्रताको लागि लालटिन बाल्नुपर्ने अवस्था आएकोले सबैको ध्यान जानुपर्ने बताए । अर्का पत्रकार अमिर लामाले प्रेस स्वतन्त्रता हरण गर्ने कार्य जुनसुकै निकायबाट भएकोले अस्वीकार्य भएको बताए ।

कार्यक्रममा पत्रकार तथा प्रेस चौतारी नेपाल, काठमाडौं जिल्लाका कोषाध्यक्ष राम कार्कीले सर्वोच्चको आदेशले राणाकालको झल्को दिएको बताउँदै पत्रकारहरु सडकमा उत्रनु बाध्यता भएको बताए ।

लालटिन बोकेर सडकमा उत्रिएका पत्रकार धनबहादुर मगरले राजतन्त्रकालको २०४७ सालकै संविधानबमोजिम पनि संकटमा नपरेको प्रेस स्वतन्त्रता अहिले चरम संकटमा परेको भन्दै बचाउको लागि सबै एकजुट हुनुपर्ने बताए । ‘म नौ–नौ पटक पक्राउ परेँ, उतिबेला राजतन्त्रसहितको संविधान थियो, मलाई न्यायालयले बचायो, यस पटक न्यायालयले नै प्रेस स्वतन्त्रता कुल्चने काम भयो,’ उनले भने ।

कार्यक्रमका संयोजक तथा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक नवराज न्यौपानेले न्यायालयको आदेशले प्रेस स्वतन्त्रता संकटमा पारेको, समाचार लेख्ने पत्रकारलाई फौजदारी अभियोग र समाचार हटाउन आदेश दिने कार्य क्षेत्राधिकार मिचेर, संविधानलाई कुल्चेर गरिएकोले संघर्षमा होमिन बाध्य भएको बताए ।

तपाईको प्रतिक्रिया