नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचि (सर्ट लिस्ट) मा समावेश भएका उम्मेदवारहरूमध्ये आइतबार उपस्थित नभएका तीन जना उम्मेदवारद्वार बुधबार (आज) पनि अनुपस्थित भएका छन् ।
अर्थमन्त्रालयले छुटेका तीन जनाको आज कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता हुने सूचना जारी गरेकाे थियो । अन्तर्वार्ताका लागि बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सञ्चालन हुने भनिएकोमा तीन जना नै अनुपस्थित भएको बुझिएको हो ।
नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये आइतबार तीन जना अन्तर्वार्तामा अनुपस्थित भएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । उनीहरूले सल्लाह गरेर नै अनुपस्थित भएको बुझिएको छ ।
स्रोतका अनुसार अर्कै उम्मेदवारलाई अध्यक्ष बनाउने राजनीतिक सहमति भएपछि तीन जनाले अन्तर्वार्ता बहिस्कार गरेको बुझिएको हो । उनीहरू तीनै जना माओवादी निकट उम्मेदवारका रूपमा धेरैले चिन्छन् ।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै आइतबार कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए ।
अनुपस्थित भएका उम्मेदवार अधिकारी नेपाल धितोपत्र बोर्डका अध्यक्ष र काकी नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरु अहिले नै सरकारी निकायमा कार्यरत छन् । स्रोतका अनुसार उनीहरूलाई जसरी पनि अन्तर्वार्तामा सहभागी हुन दबाब थियो ।
सरकारी निकायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार भएकोले पनि उनीहरूलाई अन्तर्वार्तामा सहभागी हुनका लागि सरकारबाटै दबाब थियो । तर, उनीहरू उपस्थित नभएका हुन् । कार्की पूर्व अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले नै उनलाई नेप्सेको सीईओमा नियुक्त गरेका हुन् । त्यस्तै, चापागाईं पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् भने अधिकारी पनि माओवादी निकट नै छन् ।