नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १०.०१ प्रतिशतले घटेको छ । कम्पनीले चौथौ त्रैमाससम्ममा १ करोड ८१ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १९.८६ प्रतिशतले वृद्धि भएर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेर १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८  लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । कम्पनीले चौथौ त्रैमाससम्म १ करोड २७ लाख रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७७.९२ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ लाख ५८ हजार रुपैयाँ छुट्टाएको छ ।  कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ०.९१ प्रतिशतले बढेर ४३ करोड १० लाख रुपैयाँबराबर रहेको छ । २ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आवमा १२.१६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.११ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.४८ रुपैयाँ, पीई अनुपात ३६०.१५ गुणा,प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५४४.९५ रुपैयाँ र तरलता अनुपात ४८.७० प्रतिशत कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया