आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्ने विभिन्न १६ करदातालाई सम्मान गरेको छ । नेपाल टेलिकम सबैभन्दा बढी कर तिर्ने निकायका रूपमा सम्मानित भएको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध–निर्देशक राजबहादुर शाह सम्मानित भए ।

सरकारले राष्ट्रिय कर दिवस ०८१ को अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदातालाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानपत्र प्रदान गरे । उक्त अवसरमा उनले निजी क्षेत्रलाई कर सहभागिता बढाई विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको अभियानमा अपेक्षित भूमिका निर्वाह गर्न आग्रह गरे । ‘पहिलो कर अधिकृत करदाता स्वयं आफैँ हो । तसर्थ, कानुनबमोजिम लाग्ने कर आफैँ गणना गरी दाखिला गर्ने स्वयंकर निर्धारण प्रणालीको प्रभावकारिता बढाउन योगदान गर्नोस्,’ अर्थमन्त्रीले भने, ‘यसले कर प्रशासनको मात्र होइन, करदाता स्वयंको समेत लागतमा कमी आउँछ । आर्थिक र व्यावसायिक गतिविधिमा पारदर्शिता ल्याई प्रतिस्पर्धालाई समेत प्रवर्द्धन गर्दछ ।’

कर दिवसको अवसरमा नियमनअनुसार समयमै कर बुझाइरहेका, नियम पालना गरिरहेका तथा कर बक्यौता नभएका उत्कृष्ट करदातालाई विभागले सम्मान गर्दै आएको छ । आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा निकायतर्फ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर बुझाउनेमा डाबर नेपाल प्रालि, विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा वरुण बेभरेज प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता पतञ्जलि आयुर्वेद प्रालि रहेका छन् ।

त्यस्तै, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर बुझाउनेमा नबिल बैंक लिमिटेड, रेमिट्यान्सतर्फ सिटी एक्सप्रे, सूचना प्रविधितर्फ कोडावतार टेक प्रालि र स्वास्थ्य तथा शिक्षा सेवाप्रदायक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता लुम्बिनी मेडिकल कलेज रहेका छन् । ५० करोडभन्दा धेरै कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्नेमा सोल्टी होटेल रहेको छ ।

विभागका अनुसार पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड, वस्तु–व्यापारको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर बुझाउनेमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट प्रालि, मध्यमस्तरीय करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा सिडिएस एन्ड क्लियरिङ लिमिटेड र ऊर्जामूलक उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता भोटेकोसी पावर कम्पनी रहेका छन् ।

मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सोबमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाता होङ्सी सिमेन्ट रहेको छ ।

तपाईको प्रतिक्रिया