
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ । अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको हो ।
यसअघि अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई अब देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू बनाउनु पर्ने जिम्मेवारी आएको छ । उपाध्यायसँग आर्थिक प्रशासनमा राम्रो अनुभव रहेको बताइन्छ ।
उनले कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन् । त्यस्तै,
बागमती प्रदेशको प्रमुख सचिवका का साथ साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन् ।
ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका उपाध्याय सरल स्वभावका तथा कामकाजी प्रशासकका रूपमा चिनिन्छन् ।
साथै यसअघि अर्थ सचिव रहेका डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा भएपछि राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको कामु प्रदेश सचिव रहेका अधिकारी सचिवमा बढुवा भएका हुन् । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त सचिवमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो । अधिकारी बढुवा भएका हुन् ।