सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने आठ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ५०० कित्ता र कर्मचारीहरुका लागि ५८ हजार २०० कित्ता शेयरर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik









